डिजिटल बन्दै चन्द्रागिरि नगरपालिका, सेवा लिन वडा कार्यालयसम्म धाउन नपर्ने

Thankot Times

यसका लागि नगरपालिकाले अहिले धमाधम जिपिएस जिआइएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार पार्ने काम तीव्र बनाएको छ । यो काम सम्पन्न भइसकेपछि नगरबासीले ‘अनलाइन’ सेवा उपयोग गर्न पाउने जनाइएको छ । नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “जिपिएस जिआइएस प्रणालीमार्फत नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगिसकेको छ । प्रोफाइलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग मिल्नेछ । नगरबासीले घरमा बसेर सबै सेवा पाउने छन् । स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउनेछन् ।”

यसरी बन्दैछ नगर ‘प्रोफाइल’

नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ । १८ दिन लगाएर नगरका सबै क्षेत्रमा ‘ड्रोनसर्भे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ । ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गर्ने काम धमाधम भइरहेको छ । ती डिजिटाइज तस्बिरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जनाइएको छ ।

यसपछि हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन हुनेछन् । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गर्नेछन् । नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भन्नुभयो, “नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदै छन् । ट्याबमार्फत सूचना सङ्कलन हुनेछन् । यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ । गणकका कामका अनुगमन ट्रयाकिङबाटै गर्न सकिनेछ ।” उहाँका अनुसार ७५ गणकले नगरपालिकाले तयार पारेका व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली भर्नेछन् । एक महिनाभित्र गणकले काम सकाइसक्नुपर्नेछ ।

व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरबासीलाई सोधिनेछ । यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन गरिने छ । घर तथा बाटोघाटाका लोकेशन पनि व्यक्तिगत विवरणमा उल्लेख हुनेछन् ।

नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गर्नेछ । सोही घर नम्बरका आधारमा जिपिएस ट्र्याक गरिने योजना नगरपालिकाले बनाएको छ । टोल टोलमा डिजिटल बोर्ड रहने छ । यही ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिनेछ । जसबाट नगरपालिकाबाट हुने सेवा प्रवाहमा समेत चुस्त हुने अपेक्षा नगरको छ ।

अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त ? भन्ने जिज्ञासामा सूचना प्रविधि अधिकृत ज्ञवालीले भन्नुभयो, “नगरबासीका सबै वितरण डिजिटाइज हुनेछन् । हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ । यसपछि सेवाग्राहीले फाराम भरेर अनुरोध पठाएपछि स्वीकृत अनुरोधका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौँ ।”

नगर प्रमुख गिरीले भन्नुभयो, “सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अगाडी नै जिपिएस-जिआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार हुन्छ । यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थपनमा कोसेढुङ्गाको काम गर्नेछ । व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ । नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ । नगरवासीले बिना झन्झट सेवा सुविधा पाउनेछन् । हामी ‘स्मार्टसिटी’ बनाउने काममा लागेका छौँ ।”

नगरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने मेयर गिरीको चुनावी घोषणापत्रमा उल्लेख थियो । यसबाट नगरपालिका र नगरबासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ । नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्नेछ । विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ । नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा लगायत सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।

स्वदेशी सीप र ज्ञान

‘नगर प्रोफाइल’ बनाउन नगरपालिकालाई स्वदेशी सूचनाविज्ञ संलग्न टिमले सहयोग गरिराखेकाे छ । सो टिममा डा. केशवकुमार आचार्य, भरतप्रसाद बञ्जाडा र सन्तोष कुँवरलगायत ३० प्राविधिक सहभागी हुनुहुन्छ । प्राविधिक कुँवरले भन्नुभयो, “यसप्रकारको नगर प्रोफाइल नेपालमा पहिलोपटक बन्दैछ । यसमा नगरपालिकाका लागि आवश्यक सबै किसिमका सूचना, जानकारी तथा तथ्याङ्क सङ्कलन हुनेछ । नगरपालिकालाई भावि योजना बनाउन महत्वपूर्ण सहयोग पुर्याउँछ । नगरपालिकाको सेवा अनलाइनमा रुपान्तरण गर्न सहयोग मिल्नेछ ।”

उहाँका अनुसार ‘नगर प्रोफाइल’ बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ । गणकले ट्याबमार्फत भर्ने प्रश्नावलीको काम सकिएसँगै प्रारम्भिक जानकारी आउने छ । “नगरबासीका व्यक्तिगत विवरण र गोपनीयता सुरक्षित कायम राख्नेछौँ । नगरबासीका आफ्ना जानकारी मात्र हेर्न सक्ने प्रणालीको विकास गर्ने तयारीमा छौँ ।” सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भन्नुभयो । काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको २०७८ काे जनगणनाकाे प्रारम्भिक नतिजा अनुसार जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *