तराजु बोक्दै राजनीतिमा आएका मिश्रले अब हलो बोक्ने
थानकोट ।
वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी राप्रपाले मिश्रलाई भित्र्याउन लागेको हो । मिश्रको नेतृत्वमा वृहत् ध्रुवीकरण समूहको नाममा विवकेशील साझाका केही नेता पनि राप्रपामा प्रवेश गर्न लागेको बताइएको छ ।
वैशाख महिनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू नेतृत्वको पार्टीले लज्जास्पद पराजय व्यहोरेपछि मिश्रले अध्यक्ष पदबाट राजीनामा दिई साधारण सदस्य मात्र रहेका थिए । मंगलबार सो पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिएपछि उनी राप्रपा प्रवेश गर्न लागेका हुन् ।
राप्रपामा उनलाई सहअध्यक्ष पद दिने सहमति भइसकेको चर्चा चल्ने गरेको छ ।










