राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नु अनिवार्य
थानकोट ।
मंसिर ४ को निर्वाचनको प्रचार प्रसार अन्तिम चरणमा प्रवेश गरेको छ ।
उम्मेदवारहरूले मंसिर १ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाउनेछन् । ठूला दलहरु प्रत्यक्ष प्रणालीतर्फ आफ्ना उम्मेदवार जिताउने र समानुपातिकतर्फ मत बढाउने प्रयासमा छन् । साना र नयाँ दलहरु न्यूनतम मतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’को चिन्तामा छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा ११ मा भनिएको छ, ‘ …अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ ।’
अर्थात् समानुपातिक पद्धतिबाट प्रतिनिधिसभामा सांसद निर्वाचित हुन कुल सदर मतको तीन प्रतिशतको थ्रेस होल्ड कटाउनुपर्छ । प्रदेशसभामा थ्रेस होल्डको सीमा १.५ प्रतिशत छ ।
राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ तीन प्रतिशत मत पाएर मात्र हुँदैन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नु अनिवार्य छ ।









