प्राथमिक अस्पताल थानकोटमा खुल्यो साझा औषधी बिक्री कक्ष, २४सै घण्टा सेवा उपलब्ध हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित नगर प्राथमिक अस्पताल हातामा साझा औषधी बिक्री कक्ष (फार्मेसी) सञ्चालनमा आएको छ ।
आइतबार बिहान चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सो कक्षको उद्घाटन गर्नुभएको हो । अस्पताल हातामा औषधी बिक्री कक्ष सञ्चालनमा आएसँगै सो कक्षमा स्वास्थ्य बीमा बोर्डबाट स्वीकृति औषधीहरूसमेत सहज रूपमा उपलब्ध हुने बताइएको छ ।
नगर अस्पताल हातामा साझा औषधी बिक्री कक्षको सुरूवात कार्यक्रममा बोल्नुहुँदै सो अस्पतालका निर्देशक डा. हेमनाथ आचार्यले सो अस्पतालमा उपचारका लागि आउने बिरामीहरूका लागि आवश्यक पर्ने अधिकांश औषधी सहज उपलब्धताका लागि साझा औषधी बिक्री कक्ष फलदायी हुने अपेक्षा लिएको बताउनुभयो । डा. आचार्यले स्वास्थ्य बीमा बोर्डबाट स्वीकृत औषधीका लागि अब नगरबासीहरूले अन्यत्रका अस्पताल चहार्नु नपर्ने बताउनुभयो ।
नेपाल सरकारको अधिकांश स्वामित्व रहेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका बिक्री प्रबन्धक घनश्याम पाैडेलले स्थानीयहरूको माग बमोजिमको गुणस्तरीय औषधी सुलभ दरमा उपलब्ध गराउन संस्थाले अग्रसरता लिने बताउनुभयो । यसै गरी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका महाप्रबन्धक चुडामणी भण्डारीले काठमाडाैं उपत्यकामा रहेका नगरअस्पतालहरू मध्ये पहिलो साझा औषधी बिक्री कक्ष चन्द्रागिरि नगर अस्पताल स्थापना भएको जनाउनुहुँदै हाल सो संस्थाले देशका विभिन्न २८ वटा अस्पतालहरूमा साझा औषधी बिक्री कक्ष सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
नगर अस्पतालमा साझा औषधी बिक्री कक्ष उद्घाटनपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नगर प्रमुख घनश्याम गिरीले नगरबासीहरूले औषधी खरिद गर्न अन्य स्थानमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो । नगरप्रमुख गिरीले नगरपालिका क्षेत्रमा निकट भविष्यमा नै २ वटा गाैरवका आयोजना सुरू हुँदै गरेको र दुवै आयोजना अस्पताल रहेको हुँदा यस क्षेत्रका अतिरिक्त छिमेकी जिल्लाका बिरामीहरूका लागि समेत उपचारका लागि चन्द्रागिरि नगरपालिकामा सञ्चालित अस्पतालहरू उपचारका लागि उपयोगी हुने बताउनुभयो ।
नगर अस्पतालमा साझा औषधी बिक्री कक्ष स्थापनाका क्रममा चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, नगरको सामाजिक विकास समिति संयोजक घनश्याम लुइँटेल लगायत अन्य जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
प्राथमिक अस्पताल थानकोटका स्थापना भएको सो औषधी बिक्री कक्षमा औषधी खरिद गर्दा चन्द्रागिरि नगरबासीहरूले खुद्रा बिक्री मूल्यमा थप पाँच प्रतिशत छुट उपलब्ध गराउनुपर्नेछ शर्त राखिएको छ ।
प्राथमिक अस्पताल थानकोटमा साझा औषधी कक्ष स्थापना गरिने, २४सै घण्टा सेवा उपलब्ध हुने














