जेठ २८ गतेभित्र छात्रवृत्तिकाे विवरण नदिने विद्यालयकाे अनुमति रद्द गरिदिने मेयर बालेनकाे चेतावनी

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विद्यालयहरूलाई छात्रवृत्तिकाे विवरण उपलब्ध गराउन जेठ २८ गतेसम्मकाे अल्टिमेटम दिएकाे छ ।

अन्यथा विद्यालय सञ्चालनकाे अनुमतिसमेत रद्द हुनेगरी हदैसम्मकाे कारबाही गर्न बाध्य हुने चेतावनीसमेत महानगरले दिएकाे छ ।

महानगर प्रमुख बालेन्द्र शाह बालेनले एकपटक परिपत्र र एकपटक गाेरखापत्रमा सार्वजनिक सूचना जारी गर्दासमेत छात्रवृत्तिकाे विवरण उपलब्ध नगराउने विद्यालयहरूलाई अन्तिम माैका दिइएकाे प्रस्ट पारेका छन् ।

उनले २८ गतेभित्र विवरण उपलब्ध नगराउने विद्यालयहरूमाथि काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी दिएका छन् । 

काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनुपर्ने अधिकारको बारेमा महानगर गम्भीर रहेकाे उनकाे भनाइ छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *