चन्द्रागिरि नगरले तोक्यो खानेपानीको महशुल, निर्णय नमाने कानुन बमोजीम हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूका नाममा सूचना जारी गरेको छ ।
बुधबार जारी सूचना अनुसार चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषद्को मंसिर २७ गतेको बैठकको निर्णय अनुसार अब नगरका सबै १५ वटै वडामा रहेका खानेपानी उपभोक्ता समिति, वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति तथा अन्य खानेपानी सेवा प्रदायकहरूले नगरले खानेपानी सेवा महशुल तथा शुल्क दर पालना गर्नुपर्ने जनाइएको छ ।
आफ्नै मोबाइलमा पढ्नुहोस् चन्द्रागिरि एकीकृत खानेपानी सम्बन्धी ऐन, २०८० को पूर्णपाठ
सूचना उल्लेख भएअनुसार अब चन्द्रागिरि नगरमा क्रियाशील खानेपानी सेवा प्रदायकहरूले खानेपानी सेवा उपलब्ध गराए बापत उपभोताहरूबाट १ देखी ८ यूनिट सम्म खानेपानी शुल्क बापत एकमुष्ठ ५० रूपैयाँ लिन पाउनेछन् । यसैगरी ९ देखी १५ यूनिटसम्म प्रतियूनिट थप २० रूपैयाँ, १६ देखी २५ यूनिटसम्म थप प्रतियूनिट ३० रूपैयाँ, २६ देखी ३५ यूनिटसम्म प्रतियूनिट थप ५० रूपैयाँ तथा ३६ यूनिटभन्दा माथिको खपतमा थप ८० रूपैयाँ लिन पाउनेछन् ।
चन्द्रागिरि नगरपालिकाको चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई ऐन २०८० अनुसार बनेको नियमावलीमा उल्लेख भएको सो महशुल दर लिने व्यवस्थालाई अनिवार्य रूपमा लागु गर्न समेत नगरप्रमुख घनश्याम गिरीले नगर क्षेत्रभित्रका खानेपानी सेवा प्रदायकहरूमा अनुरोध गरेका हुन् ।
चन्द्रागिरि एकीकृत खानेपानी नियमावली सार्वजनिक, वडा स्तरीय उपसमितिमा १५ जनासम्म सदस्य
नगरपालिकाले तोकेको दररेट भन्दा बढी रकम वा महशुल लिएको पाइएमा नगरबासीहरुले सम्बन्धिट वडा वा नगरपालिकाको कार्यालयमा सूचना दिन समेत नगरप्रमुख गिरीले अनुरोध गरेका छन् ।











