राष्ट्रिय सभाका निर्वाचित १९ जना सदस्यले आज शपथ ग्रहण गर्ने

थानकोट ।

राष्ट्रिय सभाका निर्वाचित १९ जना सदस्यहरुले आज सोमबार शपथग्रहण गर्दैछन् ।

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिने भएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउनुहुने प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

सङ्घीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिनुहुने छ । उहाँ नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुनुभएको हो ।

गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रिय सभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहण गरेका सदस्य सोमबार नै राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन् । राष्ट्रिय सभाको सोमबारको बैठक अपराह्न १ बजेर १७ मिनेटमा बस्ने तय गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *