नेकपा एसले ‘यथास्थितिमा मुख्य मन्त्रीलाई विश्वासको मत दिँदैनौं’ भनेपछि बागमतीमा अर्को तरङ्ग
थानकोट ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा समाजवादीले यथास्थितिमा विश्वासको मत दिन नसकिने बताएको छ।
आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रालय भागबन्डा लगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै यथास्थितिमै प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनालले बताए ।
बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता जम्कट्टेल मुख्यमन्त्री छन्।
बागमतीमा एकीकृत समाजवादीका ७ जना सांसद छन्। यसैगरी नेपाली कांग्रेस ३७, नेकपा (एमाले) २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेमकिपा ३ र हाम्रो नेपाल पार्टीका २ सांसद छन्।
११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको साथ चाहिन्छ।











