लुम्बिनीको पाँचौं मुख्यमन्त्रीमा महरा नियुक्त
थानकोट ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नियुक्त भएका छन्।
शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
महराले शुक्रबार नै ४८ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले विज्ञप्ति जारी गर्दै महराले प्रदेश प्रमुख समक्ष ४८ जनाको हस्ताक्षरसहित दाबी पेस गरेकोले उनलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेको जानकारी गराएका छन्।
बिहीबार नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ।











