सपथ लिएको १५ दिन बित्यो, बागमती प्रदेश मन्त्री रमा आलेमगर अझै जिम्मेवारीविहिन

Thankot Times

थानकोट ।

एक साताभित्र मन्त्रालय टुंगो लगाउने वचन दिएर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत्र २० गते एकीकृत समाजवादीबाट निर्वाचित एक्ली महिला सांसद् रमा आले मगरलाई बागमती प्रदेश सरकारमा विना विभागीय मन्त्रीको सपथ दिलाउनु भयो । 

रमा आले मगरले मन्त्री पदको सपथ लिएको आज मंगलबार १५ दिन भएको छ ।

यो समाचार तयार पार्दासम्म उहाँले पाउने मन्त्रालय अझै टुंगो लागेको छैन् । सपथ लिएकै दिन गृह नगर चन्द्रागिरि आउनुभएकी मन्त्री आले मगर मन्त्रालयको जिम्मेवारी नपाउँदा अहिले यतै बधाई थाप्दै दिन बिताउँदै हुनुहुन्छ । पछिल्लो १५ दिनदेखी यहि क्रम जारी छ ।

मुख्यमन्त्रीले जिम्मेवारी दिनुभएन्, मन्त्रालय विहिन अवस्थामा म हेटाैंडा गएर के गर्ने ? थानकोट टाइम्ससँग मंगलबार बिहान मन्त्री आले मगरले भन्नुभयो । पार्टी तथा मुख्यमन्त्रीसँग मैले पाउने जिम्मेवारी के हो भन्ने सन्दर्भमा म प्रश्न गरिरहेको छु, म अनिर्णयको बन्दी जस्तै भएको महशुस भएको छ । अझैपनि यस्तै अवस्थामा जारी रहे मैले राजीनामा दिनुको विकल्प नरहला । त्यसपछि बागमती प्रदेशमा विकसित हुने राजनीनिक परिस्थितिको जिम्मेवारी मुख्य मन्त्रीले लिनुहुनेछ मन्त्री आले मगरले भन्नुभयो ।

मन्त्रालय फुटाएर जिम्मेवारी दिने गृहकार्य गर्दै मुख्यमन्त्री

उता मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्री व्यवस्थापनका लागि प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइने बताउनुभएको छ । प्रदेशमा १३ मन्त्रालय बनाउने सरकारको तयारी रहेको उहाँको भनाइ छ । अहिले बागमतीमा मन्त्री १३ जना रहँदा मन्त्रालय १२ छन् ।

मुख्यमन्त्री जम्कट्टेलले यसका लागि दलहरू बिच सहमति गरिने पनि प्रस्ट पार्नुभयो । उहाँले यसै साता मन्त्रालय विभाजन गरेर विना विभागीय मन्त्रीको व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनुभयो ।

सत्ता समीकरण निर्माणको चरणमा मन्त्रालयको सङ्ख्या नबढाउने सम्झौता भए पनि वर्तमान राजनीतिक परिस्थितिका कारण मन्त्रालयको सङ्ख्या बढाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *