रुखमा राखिएका बत्तिका कारण संकटमा चरा, चन्द्रागिरि क्षेत्रमा रुखमा बत्ति राख्न होडबाजी

थानकोट । 

अहिले गाउँ होस् या सहर, सडक होस् वा घर, होटल वा रिसोर्ट जताततै बत्ती राखेर झिलिमिली पार्ने होड नै चलेको छ ।

व्यापार वृद्धिका लागि उज्यालो र झिलिमिली बनाउने आमप्रचलन छ । यसले मानिसलाई सजिलो बनाए पनि चरा र जीवजन्तुलाई भने बाँच्नै मुस्किल बनाएको छ । 

अझ शान्त ठाउँ भन्दै जङ्गल र नदी किनारामा रिसोर्ट बनाउने र आसपासका रुखलाई आकर्षक बनाउन कृत्रिम बत्ती बाल्दा आकर्षण देखिए पनि चराका लागि ती पासो जस्तै बनेका छन् । राजमार्गका छेउमा राखिएका सडकबत्तीसँगै रुखमा अनावश्यक रूपमा राखिएका झिलिमिलीले सानादेखि ठुला प्रजातिका चरालाई असर पारेको छ । त्यसतर्फ राज्यबाट चासो हुन नसकेको यस क्षेत्रमा आबद्ध खोजकर्ताले बताएका छन् । 

नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठले रातमा हुने प्रकाश प्रदूषणले चरामा वंशाणुगत गुणमा नै असर पारिरहेको विचार व्यक्त गर्नुभयो । मानिससँग नजिक भएर घरका प्वाल, टुँडाल र गोठमा बस्ने भँगेरा र लाटोकोसेरोको सङ्ख्यामा कमी आउनुका पछाडि प्रकाश प्रदूषणले मुख्य भूमिका खेलेको श्रेष्ठको दाबी छ । 

रातको समयमा कृत्रिम उज्यालोकै कारण चराले दिन र रात छुट्याउन नसक्ने भएकाले तिनीहरूको बसाइमा समस्या हुने गरेको हो । कृत्रिम प्रकाशले चराको उठ्ने, खाना खोज्ने र आराम गर्ने समयमा परिर्वतन गराउन थालेको छ । जसका कारण समय नहुँदै चरा सक्रिय बन्न थालेको उहाँले बताउनुभयो । कृत्रिम प्रकाशका कारणले चराको प्रजनन दरलाई बिथोलेको छ । 

उहाँका अनुसार घाम झुल्किनुअघि उठ्ने र अस्ताएपछि आराम गर्ने चराको वंशाणुगत गुणलाई कृत्रिम प्रकाशले नराम्रोसँग असर पारेको छ गोरखापत्र दैनिकमा खबर छ।  


One thought on “रुखमा राखिएका बत्तिका कारण संकटमा चरा, चन्द्रागिरि क्षेत्रमा रुखमा बत्ति राख्न होडबाजी

  1. मानिसको स्वार्थमा पशुपंक्षीको वासस्थान माथि दमन गर्नुहुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *