२०८४ सालसम्म देशको ऋण ४० खर्ब पुग्छ- सांसद् केसी
थानकोट ।
संघीय सांसद राजेन्द्रकुमार केसीले अहिले कै रफ्तारमा राष्ट्रिय ऋण बढ्दै गए २०८४ सालसम्म ४० खर्ब पुग्ने दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा चलिरहेको राष्ट्र ऋण उठाउने विधेयक सम्बन्धी छलफलमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्।
‘यो वर्ष १८ खर्ब ३० अर्ब ६० करोड बनाएका छौं ।
हालाकी हाम्रो आम्दानी यो वर्ष १० खर्ब मात्रै छ,’ सांसद केसीले भने,‘आफ्नो आम्दानीले साधारण खर्च धान्दैन भने यो मुलुक भोलिको दिनमा होला ?’
आफू २०७० सालमा सांसद हुँदा ७ खर्ब राष्ट्रिय ऋण भएको बताउँदै सांसद केसीले अहिले २४ खर्ब पुगेको बताए। उनले भने, ‘यहि रफ्तारमा गए ०८४ सम्म पुग्दा ४० खर्ब ऋण यो राष्ट्रले बोक्ने अवस्था आयो।’
यसवर्ष पनि ६ खर्ब ऋण लिएर वितरणमुखी बजेटमा खर्च गर्ने योजनामा सरकार रहेको उनको आरोप छ। ऋण मात्रै लिएर बजेटको सहि सदुपयोग नगरे भविष्यमा ऋण लिएर ऋण तिर्ने काम मात्रै हुने सांसद केसीको टिप्पणी छ।
‘यसवर्ष नै ३ खर्ब ६७ अर्ब ऋण तिर्नुपर्ने छ। अर्को वर्ष चार खर्ब तिर्नुपर्छ भने यो अवस्थामा मुलुकको अवस्था के हुन्छ ?,’ उनले भने।










