नयाँ सरकारमा सकभर आफैं नभए राजन केसीलाई अगाडि सार्ने मुडमा प्रकाशमान सिंह !

Thankot Times

थानकोट ।

नयाँ सरकार गठनका लागि चहलपहल बढिरहँदा नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस सांसदको भिड लाग्न थालिसकेको छ ।

कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै कांग्रेस सांसदहरूले मन्त्रीको लबिङ तीव्र पारेका छन् ।

सरकार गठनको ढोका नखुल्दै कांग्रेसमा मन्त्री बन्न चर्को हानथाप सुरु भइसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसबाट नेतृत्व गर्नेमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतको नाम चर्चामा छ ।

कांग्रेसबाट उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्दा सिंहको सम्भावना उच्च छ ।

यस्तै कांग्रेसबाट देउवा पत्नी डा. आरजु राणा देउवा पनि मन्त्री बन्ने सम्भावना उच्च छ । उनले परराष्ट्रमन्त्रीमा इच्छा व्यक्त गरेको नेताहरू बताउँछन् ।

कांग्रेसमा देउवा समूहबाट रमेश लेखक, डा. आरजु राणाका साथै विनोद चौधरी, उदयशम्शेर राणा, किशोरसिंह राठोर, अजय चौरसिया, वीरबहादुर बलायर, श्याम घिमिरे लगायत मन्त्रीको दौडमा छन् ।

कांग्रेसको शेखर कोइराला समूहबाट सांसद चन्द्र भण्डारी, बद्री पाण्डे, जीवन परियार, रामनाथ अधिकारी, तेजुलाल चौधरी, सञ्जय गौतम लगायत मन्त्रीको लबिङमा छन् ।

महामन्त्री गगन थापाले सांसद प्रदीप पौडेल, प्रतिमा गौतम लगायतलाई मन्त्री बनाउन जोडबल गरिराखेका छन् ।

पूर्वमहामन्त्री शशांक कोइरालाले दीपक गिरी र दीपक खड्कामध्ये एक जनालाई मन्त्री बनाउन लबिङ गरेको पाइन्छ ।

प्रकाशमान सिंहले आफू मन्त्री नबन्ने परिस्थितिमा काठमाडाैं क्षेत्र नं. १० बाट निर्वाचित राजन केसीलाई अगाडि सार्ने सम्भावना रहेको बताइन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *