नेपाल प्रिमियर लिग क्रिकेटः आज जनकपुर र सुदूरपश्चिम तथा लुम्बिनी र काठमाडौंबीच खेल हुने
थानकोट ।
नेपाल प्रिमियर लिग क्रिकेटमा आज बुधबार पनि २ वटा खेल हुँदैछन् ।
दिनको पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्स र अपराजित जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।
प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।
चार खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ ।
चारमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जितसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिनको दोस्रो खेल दिउँसो १ बजे लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीच खेल हुँदैछ ।
प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार बेहोरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।
काठमाडौं भने आजको खेलमा जितसहित आफ्नो प्लेअफ सम्भावनालाई कायम राख्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा तीन खेल मात्र खेलेको काठमाडौंले यसक्रममा दुई हार र एक जितको नतिजा निकालेको छ ।















