नेपाल प्रिमियर लिग क्रिकेटः जनकपुरको अपराजित यात्रामा ब्रेक, सुदूरपश्चिम ७२ रनले विजयी

Thankot Times

थानकोट ।

जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ ।

सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्स ७२ रनले पराजित भएको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा ५१ रनमै समेटियो ।

प्रतियोगितामा जनकपुरले सबैभन्दा कम योगफलमा समेटिने टिमको रेकर्ड बनाएको छ ।

जनकपुरको खातामा जोसुवा ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । यसबाहेक, जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हर्मित सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए ।

सुदूरपश्चिमलाई मध्यम योगफलमा रोक्न मधेसका किशोर महतोले चार विकेट लिए ।

प्रतियोगिता अन्तर्गत बुधबार नै दिउँसो १ बजे काठमाडाैं र लुम्बिनी बीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *