थानकोट ।
काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० शृङ्खलामा बिहीबार सम्पन्न खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डमाथि जित हात पारेको छ ।
खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई अन्तिम बलमा १ विकेटले हराएको हो ।
थाइल्याण्डले दिएको ११० रनको लक्ष्य नेदरल्याण्ड्सले अन्तिम बलमा ९ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेदरल्याण्ड्सका लागि फेबे मोल्कनबरले सर्वाधिक ३२ रन बनाइन् । त्यस्तै रोबिन रिकेले २० तथा स्टेरे कालिसले १४ रन बनाइन् ।
थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् । त्यस्तै ओनिचा कामचोम्पुले ३ तथा फनिता मायाले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो । नथकन चन्थमले सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् । चनिदा सुथिराङले ३२ रन बनाइन् ।
नेदरल्याण्ड्सका आइरिस विलिङले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिइन् । हिथर सिगर्सले २ विकेट हात पारिन् ।
यस जितसँगै नेदरल्याण्ड्सले उपाधि जित्ने सम्भावना कायमै राखेको छ । चौथो जित निकालेको नेदरल्याण्ड्सको र थाइल्याण्डको समान ८ अंक छ । नेट रनरेटमा भने थाइल्याण्ड अगाडि छ ।
अब शुक्रबार हुने नेपाल र थाइल्याण्डबीचको खेलमा नेपालले थाइल्याण्डलाई हराएर थाइ टिमको नेट रनरेट नेदरल्याण्ड्सको भन्दा कम भएमा नेदरल्याण्ड्सले उपाधि जित्नेछ ।
थाइल्याण्डले नेपाललाई हराएमा भने थाइल्याण्ड सिरिज विजेता बन्दा नेपाल जितविहीन रहनेछ ।