सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: २ खेलमा १५ गोल, नेपाल पुलिस र एपीएफ स्कुल विजयी

Thankot Times

थानकोट ।

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा नेपाल पुलिस स्कुल र नेपाल एपीएफ स्कुल विजयी भएका छन् ।

गोलको वर्षा भएको दिनको पहिलो खेलमा काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलले न्यू होराइजन एकेडेमी, काठमाण्डौलाई ८-० गोल अन्तरले स्तब्ध बनायो । एकपक्षीय खेलमा नेपाल पुलिस स्कुलका लागि मेस्सी वीर विक्रम शाह र सिवन पराजुलीले ह्याट्रिक गर्दा युकेश लामा र दिप्सन पाण्डेले समान १-१ गोल गरेका थिए । शाह खेलमा म्यान अफ दी म्याच चुनिए । 

यस्तै दिनको दोश्रो खेलमा घरेलु टोली नेपाल एपीएफ स्कुल, कीर्तिपुरले राई स्कुल नक्सालको चुनाैती ७-० ले पन्छायो । एपीएफका स्कुलका लागि विकास बोहोराले ४ गोल गर्दा विनम खाम्चाले २ र अमन भगतले १ गोल गरेका थिए । खेलमा दिपेश गुरुङ म्यान अफ दी म्याच चुनिए । 

प्रतियोगिता अन्तर्गत सोमबार ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुर र ग्रिन भिलेज सेकेण्डरी स्कुल, कीर्तिपुरबीच पहिलो खेल हुनेछ । यस्तै दोश्रो खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुरको बी टीम र लेबोरेटरी माध्यामिक विद्यालय, कीर्तिपुरबीच खेल हुनेछ । 

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । गत आइतबारबाट सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *