फोर नेसन्स कप महिला फुटबल प्रतियोगिताः नेपालको विजयी शुरुआत, किर्गिस्तान १-० स्तब्ध
थानकोट ।
चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशाला सोमबार साँझ भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो ।
नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरिन् ।
शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलले हरायो ।
चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् ।
प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
फाइनल खेल फागुन १४ गते हुनेछ ।
तस्वीरः एन्फा













