आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट: अन्तिम खेलमा नेपाल पराजित

Thankot Times

थानकोट ।

थाइल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ ।

मंगलबार थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।

नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् ।

राजमती ऐरीले १९ रन बनाउँदा रुविना क्षेत्रीले १२ रन थपिन् ।

यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका दुई ब्याटर गोल्डेन डक हुँदा अरू दुई ब्याटर डक भए ।

नेपाललाई सस्तैमा समेट्न ओनिचा काम्चोम्फुले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले एक मेडन फ्याँक्दै ११ रन खर्चिइन् । थिपट्चा पुथावोङले तीन विकेट लिइन् । यस्तै, सुलिपोर्न लाओमीले एक विकेट हात पारिन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।

थाइल्यान्डकी नाताया बुचाथाम र नानापाट कोन्चारोएन्काईले समान ५० रन बनाए ।

यस्तै, अफिसारा सुवान्चोनराथीले २९ र नाथाकान चान्थमले १५ रन थपे ।

नेपालका राजमति ऐरी र मनीषा उपाध्यायले समान एक विकेट लिए ।

यो हारका बाबजुद नेपाल एसिया छनोटको शीर्ष दुईमा रहँदै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ ।

नेपालले यसअघि सोमबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान सुनिश्चित गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *