विद्यार्थी गुणीय चक्रको १९औं राष्ट्रिय सम्मेलन पुस ३० देखि माघ २ सम्म पोखरामा हुने

Thankot Times

थानकोट ।

क्वेस्ट नेपालको आयोजनामा पोखरामा विद्यार्थी गुणीय चक्र (एसक्यूसी)को १९औं राष्ट्रिय सम्मेलन हुने भएको छ ।

यही पुस ३० देखि माघ २ सम्म पोखरा महानगरपालिकाको नयाँगाउँस्थित सेन्ट मेरिज माविमा सम्मेलन हुन लागेको हो । सम्मेलन उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले गर्ने कार्यक्रम छ ।

सम्मेलनमा देशभरका ७४ विद्यालयबाट ६ सयभन्दा बढी विद्यार्थी र एक सयजना पर्यवेक्षकको सहभागिता रहने आयोजकले जनाएको छ । विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले सन् २००५ देखि नेपालका शैक्षिक संस्थामा विद्यार्थी गुणीय चक्र कार्यक्रम लागू भइरहेको छ । हाल देशभरका २ सयभन्दा बढी विद्यालयले यसलाई पाठ्यक्रम र सह–पाठ्यक्रमका रूपमा सञ्चालन गरिरहेका छन् ।

सम्मेलनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्वेष्ट नेपालका अध्यक्ष नारद रिजालले विद्यार्थीलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूमा सामाजिक, नैतिक र व्यवहारिक सीप विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । उनले भने, ‘यो सम्मेलनले विद्यार्थीलाई आफ्ना समस्या आफैं पहिचान गरी समाधान खोज्न सक्ने आत्मविश्वासी नागरिक बनाउन मद्दत गर्नेछ ।’

सन् १९६२ मा जापानको औद्योगिक क्षेत्रबाट सुरु भएको यो अवधारणालाई १९९९ मा प्रा.डा. दिनेशप्रसाद चापागाईंले नेपालको शिक्षा क्षेत्रमा भित्र्याएका थिए । यो अवधारणाले विद्यार्थीलाई २१ औं शताब्दीका लागि आवश्यक जीवनोपयोगी सीप सिकाउने लक्ष्य राखेको छ ।

सेन्ट मेरिज माविकी प्रधानाध्यापक सिस्टर जेसी सिजेले विद्यार्थी गुणीय चक्रले बालबालिकालाई समस्याको मूल जरासम्म पुगेर सामूहिक रूपमा समाधान खोज्न सिकाउने बताइन् । ‘यसले उनीहरूको चरित्र निर्माणमा इँटा थप्नुका साथै नेतृत्व क्षमताको समेत विकास गर्छ, जुन आजको विश्वका लागि अपरिहार्य छ,’ उनले भनिन् ।

सम्मेलनका निर्देशक देवराज घिमिरेका अनुसार सहभागी विद्यार्थीले देशभरका २७ वटा हवबाट छानिएका विद्यार्थी प्रतिनिधिले विद्यार्थी गुणीय चक्रमा आफ्ना समस्या समाधानको कार्य प्रतिवेदन प्रस्तुतीकरण गर्नेछन् । यसबाहेक एआई कार्यशाला, दिगो विकास कार्यशाला, विभिन्न विषयमा संवाद र पोखराका विभिन्न स्थानको शैक्षिक भ्रमणजस्ता गतिविधिमा विद्यार्थी संलग्न हुनेछन् ।

सम्मेलनको अवसरमा अन्तर्राष्ट्रियस्तरको ‘दिनेश चापागाईं क्वालिटी अवार्ड’ का साथै राष्ट्रियस्तरका ‘एसक्युपी हव अवार्ड’ र ‘एसक्युसी क्वालिटी विद्यालय अवार्ड’ समेत प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा ब्राइट फ्यूचर माविका अध्यक्ष तथा क्वेष्ट नेपालका उपाध्यक्ष मोहनकुमार कार्कीको समेत उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *