त्रिविसहित ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
थानकोट ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्धिस्ट विश्वविद्यालय, कृषि तथा वन विश्विद्यलय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि नाम सिफारिस प्रक्रिया अघि बढाइएको जनाएको हो ।
समितिले २४ वैशाखमा स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’बमोजिम आवेदन माग गरिएको जनाएको छ ।
इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत दरखास्त दिन सक्ने जनाइएको छ ।
सम्बन्धित कार्यविधिसमेत मन्त्रालयको वेबसाइटमा राखिएको मन्त्रालयले जनाएको छ ।











