विद्यालयमा आइतबारको बिदा फिर्ता लिन काठमाडाैं उपत्यका मेयर्स फोरमको आग्रह
थानकोट ।
उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि बिदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरित विद्यालयमा बिदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै बिदा फिर्ता लिन माग गरेको हो ।
मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिए ।
शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्छ ।
तर सरकारले अप्रत्याशित रूपमा आइतबर बिदा दिने निर्णय गर्दा अध्ययन-अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
सरकारको निर्णयले विद्यालयहरू १९० दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ ।
पालिकाले आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको महर्जनले बताए ।
बैठकले यसको समाधान खोज्न काठमाण्डाै उपत्यका मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिइएको छ ।












