त्रिविकाे उपकुलपतिका लागि १० जनाकाे नाम सर्टलिस्ट
थानकोट ।
सरकारले विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि छनोट प्रक्रिया अगाडि बढाउँदै अल्पसूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिका लागि विभिन्न १० जनाकाे नाम सर्टलिस्टमा परेकाे छ । त्रिविकाे उपकुलपतिका लागि अमर प्रसाद यादव, कविप्रसाद पाेखरेल, कृष्णाराज आचार्य, गाेविन्द सुवेदी, टंकनाथ धमला, ताराप्रसाद भुसाल, दुर्गा दत्त पाैडेल, नन्दबहादुर सिंह, भेला थापा र रामप्रसाद रेग्मीकाे नाम सर्टलिस्टमा परेकाे हाे ।
त्रिभुवन विश्वविद्यालयसहित पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरिएको हो ।
विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम गठित सिफारिस समितिले उपकुलपति पदका लागि प्राप्त दरखास्तमध्ये स्वीकृत उम्मेदवारहरूको मूल्यांकन गरी अल्पसूची तयार गरेको हो ।
सिफारिस समितिको २२ जेठ २०८३ काे निर्णयअनुसार अल्पसूचीमा समावेश भएका उम्मेदवारहरूको नामावली वर्णानुक्रमअनुसार प्रकाशन गरिएको जनाइएको छ ।
सिफारिस समितिले अल्पसूचीमा परेका उम्मेदवारहरूको योग्यता, क्षमता तथा उपयुक्तताबारे सरोकारवालाबाट राय तथा सुझावसमेत माग गरेको छ । इच्छुक व्यक्तिले २५ जेठ २०८३ भित्र समितिले उपलब्ध गराएको गुगल लिंकमार्फत आफ्नो राय तथा सुझाव पठाउन सक्ने जनाइएको छ ।
समितिले प्राप्त सुझावहरूलाई समेत आधार मानेर अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाएको छ । गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिको लागि खुला आह्वान गरिएको थियो । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।














