चन्द्रागिरिका निजी विद्यालय आइतबारको दिन पनि बिदा गर्ने शिक्षा समितिको निर्णय
थानकोट ।
नगर शिक्षा समितिले चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका संस्थागत विद्यालय आइतबारको दिन पनि बिदा गर्ने निर्णय गरेको छ ।
यही जेठ २५ गते बसेको समितिको बैठकले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा शिक्षा नियमावली, २०५९ मा भएको व्यवस्था बमोजीम नगर क्षेत्रका विद्यालयहरू आइतबार तथा सार्वजनिक बिदाका दिन स्वतः हुने व्यवस्था अनुसार यो निर्णय गरिएको हो ।
आइतबारपनि निजी विद्यालय बन्द गर्ने नगरपालिकाको निर्णय सार्वजनिक भएसँगै अभिभावकहरूले सामाजिक सञ्जालमा व्यापक असन्तुष्टी पोखेका छन् । उनीहरूले नगरपालिकाले अव्यवहारिक निर्णय गरेको भन्दै रोष प्रकट गरेका हुन् ।
यस निर्णयप्रति निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) चन्द्रागिरि नगरको धारणा सार्वजनिक हुन बाँकी रहेको छ ।













