‘हामीले खुट्टामा बल दिएका छौँ, गोल हान्ने जिम्मा बालेनको हो’: रवि लामिछाने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावअघि नै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को खुट्टामा बल पुर्‍याएको र अब बालेनको जिम्मामा भटाभट गोल हान्ने जिम्मा रहेको बताएका छन्।

रास्वपाको आइतबारदेखि चितवनमा सुरु भएको पहिलो महाधिवेशनमा सभापति लामिछानेले बालेनलाई पार्टीले प्रधानमन्त्री बनाएको र अब काम देखाउने जिम्मा बालेन रहेको  बताएका हुन्।

उनले सरकारको निगरानी पार्टीले गरिरहेको भन्दै चुनावअघि बालेनसँग गरिएका सहमति कार्यान्वयन गरिने प्रतिबद्धता पनि जनाए। ‘हामीले नेपाली जनता र इतिहासलाई साँची राखेर जुन सहमति गरेका छौँ। त्यो सहमतिको पालना एक(एक गरेर पालना गर्ने म यहाँ उभिएर प्रण गर्न चाहन्छु। यो हाम्रो निजी कुरो होइन। इतिहासलाई जवाफ दिनुपर्ने छ। व्यक्तिको कुरा ठूलो कुरा होइन’, लामिछानेले भने ‘त्यस कारण सरकार सञ्चालनका लागि रास्वपाले चुनाव अघि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब भटाभट बल हान्ने जिम्मा बालेन जीको हो। उहाँले त्यसको निरन्तरता दिइरहनुभएको छ।’

उनले झुक्किएर बल कतै गएमा फेरि पास गरेर बालनकै खुट्टामा आफूले पुर्‍याउने पनि बताएका छन्। ‘झुक्किएर कहीँ आएछ भने पनि फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *