‘अख्तियारलाई ५ घण्टामात्रै होइन, आवश्यक परे ५ वर्ष राखेर सल्लाह गरिन्छ’ : प्रधानमन्त्री बालेन
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारी सम्पत्तिको दोहन र विगतमा भएका अनियमितताबारे खोजबिन गर्न आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पाँच घण्टा मात्र होइन, पाँच वर्षसम्म पनि सल्लाह र छलफल गर्न सकिने बताएका छन्।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगतका फट्याइँ र सरकारी सम्पत्तिको दुरुपयोगका विषयमा अनुसन्धान तथा परामर्श आवश्यक रहेको बताएका हुन्।
केही दिनअघि अख्तियारका प्रमुखसहित पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर लामो समय छलफल गरिएको विषयलाई संकेत गर्दै उनले आवश्यक परे आयोगसँग लामो समयसम्म पनि परामर्श गर्न सरकार तयार रहेको बताए।
‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियमभन्दा बाहिर जाँदैनौँ,’ प्रधानमन्त्री शाहले भनेका छन्।
उनले आफ्नो नेतृत्वको पार्टी विकास, सुशासन र परिणाममुखी काममा केन्द्रित रहेको दाबी गर्दै प्रतिशोधको राजनीतिमा विश्वास नगर्ने बताए। विगतका विषय उठाउनुको उद्देश्य कसैप्रति पूर्वाग्रह नरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले विकास र सुशासनको यात्रामा अगाडि बढ्दा विगतमा भएका कमजोरी, अनियमितता तथा सरकारी सम्पत्तिको दोहनबारे तथ्यगत खोजबिन गर्नु आवश्यक हुने उल्लेख गरे।
‘हामी प्रतिशोध साँध्ने पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइनौँ । तर अगाडि बढ्दै गर्दा विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यसबारे खोजबिन गर्न जरुरी हुन्छ,’ उनले भनेका छन्।
प्रधानमन्त्रीको यो अभिव्यक्ति अख्तियारका पदाधिकारीहरूसँग प्रधानमन्त्री कार्यालयमा भएको लामो छलफलबारे सार्वजनिक रूपमा उठेका प्रश्न र आलोचनाको सन्दर्भमा आएको हो। उक्त घटनापछि आयोगको स्वतन्त्रता, सरकार–अख्तियार सम्बन्ध तथा अनुसन्धान निकायसँगको समन्वयका विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ।
सरकारले भने सुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण र विगतका अनियमितताको छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्दै आएको छ।










