मध्यरातमा प्रधानमन्त्री शाहको फेसबुक स्टाटस, भने- एकअर्कालाई प्रेम र सम्मान गरौँ

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गर्दै सबैलाई सुरक्षित र संयमित भएर बस्न तथा एकअर्कालाई प्रेम र सम्मान गरी सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री शाहले सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको र आवश्यक निर्णयहरू भइरहेको जानकारी दिए । ‘सरकार छ, र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पूर्ण घटनाकाबारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको छ । तपाईंहरूले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

उनले यस घटनामा सुरक्षाकर्मीबाट गोली चल्नु र क्षति हुनु सामान्य नभएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु ।’

पीडितलाई न्यायको अनुभूति गराउनका लागि सरकारले पूरै शक्ति लगाएको र त्यसको परिणाम चाँडै आउने उनको भनाइ छ । ‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ’, प्रधानमन्त्री शाहको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ