भक्तपुरमा फरक-फरक स्थानमा दुर्घटना, मोटरसाइकल र स्कुटर चालकको मृत्यु
थानकोट ।
शुक्रबार भक्तपुरमा भएका दुइटा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। दिउँसो अन्दाजी २ बजे चागुँनारायण- ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित दुर्घटना भएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेमा काठमाडौं शंखरापुर नगरपालिका-५ पालुवारी बस्ने ४० वर्षीय शंखर भोलोन तामाङ छन्।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुस्मा मेमोरियल अस्पताल साँखु लगिएको थियो। उनको उपचारको साढे तीन बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शव पोस्टमर्टमका लागि भक्तपुर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ।
तामाङले चलाएको मोटरसाइकल सडकबाट १५/२० मिटर तल खसेको थियो।
त्यस्तै भक्तपुरमै शुक्रबार अर्को पनि दुर्घटना भएको छ। अपराह्न चार बजेतिर सूर्यविनायक- ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको बा ९९ प ३४८५ नम्बरको स्कुटर ठोक्किएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
स्कुटरले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनकुटा खोलीखर्क गाँउपालिका- ७ घर भई हाल चाँगुनारायण- २, झौखेल ३९ वर्षीया ओमकुमारी श्रेष्ठ छन्।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा सवा चार बजेतिर उनको मृत्यु भएको हो।
प्रहरीले दुवै सवारीसाधन र बस चालक भक्तपुर-२ इताछे बस्ने ४१ वर्षीय दयाराम देशेमरूलाई नियन्त्रणमा लिएको जनाएको छ।













