बिहान पशुपतिनाथ पुगेका राष्ट्रपति पौडेल साँझ पुगे स्वयम्भुनाथ, सर्वसाधारणलाई सास्ती

Thankot Times

थानकोट ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भूनाथको दर्शन गरेका छन् ।  राष्ट्रपति पौडेलले शुक्रबार साँझ स्वयम्भूनाथको दर्शन गरेका हुन् । 

राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट शुक्रबार बिहान पौडेलले पशुपतिनाथको दर्शन गरेका थिए । 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सुरुवाती सवारीमै सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । शुक्रबार सर्वसाधारणलाई असहज हुने गरी सडक खाली गरेर सवारी गराइएपछि पौडेलको आलोचना भएको छ । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । 

राष्ट्रपतिमा निर्वाचित भएपछि बिहीबार संसद् भवनमा प्रतिक्रिया दिँदै पौडेलले ‘अब जाम हुँदैन, गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुनुपर्छ त्यो म देखाउनेछु । यी दुई शासनबीच के भिन्नता छ  तपाईंहरूले देख्न पाउनुहुनेछ’ भनेका थिए । तर, २४ घन्टा नबित्दै उनको सवारीमा सडक खाली गराइयो । 

पौडेलको सचिवालयका अनुसार बिहान सवा ९ बजे पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुगेका राष्ट्रपति पौडेलले करिब आधा घन्टा बिताएका थिए । पशुपतिनाथको दर्शन तथा पूजा सकेपछि उनले सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गरेका थिए । उनी पशुपति प्रवेश गर्दा र त्यहाँबाट निस्केर सुन्दरीजल जाँदा सडक खाली गरिएको थियो ।

एकतर्फी लेन खाली गराउँदा सवारी आवागमन ठप्प भएको थियो । सर्वसाधारणले सडकमै हर्न बजाएर विरोध गरेका थिए । विगतका शासककोे शैलीमा राष्ट्रपतिको सवारी हुने गरेको भन्दै आलोचना भइरहेको छ । गत २७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने जाने बेला सडक खाली गराइएको थियो ।त्यसबेला चिकित्सकसमेत कुटिएपछि भण्डारीको आलोचना भएको थियो । 

सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी राष्ट्रपतिको सवारीको विषयमा पटक–पटक गुनासो आउने गरेको बताउँछन् नयाँ पत्रिकामा खबर छ । उनका अनुसार अति विशिष्ट व्यक्तिको सवारी व्यवस्थापन गृह मन्त्रालयको कार्यविधिअनुसार सबै सुरक्षा निकायको समन्वयमा हुने गर्छ । ‘

गृह मन्त्रालयले बनाएको कार्यविधि पालना गरेर सेनाले कार्यसम्पादन गर्छ । कार्यविधिको व्यवस्थाअनुसार राष्ट्रपतिको सुरक्षामा सेनाको सहभागिता रहन्छ । सबै निकायसँग समन्वय हुन्छ । तर, सवारीलगायत व्यवस्थापनको काम गृहको कार्यविधिअनुसार गृहबाट हुने गर्छ । सेनाको मात्र हातमा व्यवस्थापनको जिम्मेवारी हुँदैन,’ प्रवक्ता भण्डारीले नयाँ पत्रिकासँग भने ।

पूर्वडिआइजी हेमन्त मल्ल राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई पर्ने समस्या समाधानमा जिम्मेवार निकायबीच समन्वय अभाव रहेको बताउँछन् । पटक–पटक आउने गुनासा समाधान हुन नसक्दा सर्वसाधारणमा वितृष्णा पैदा भएको उनको भनाइ छ । यसको जिम्मेवारी भिआइपीलाई दिन नमिल्ने उनले बताए ।

‘राष्ट्रपतिको सवारी व्यवस्थापनमा राष्ट्रपति कार्यालय र सुरक्षा निकाय जिम्मेवार हुन्छन् । यसमा दुई निकायबीच समन्वय अभाव देखिन्छ । यसलाई तत्कालै सुनुवाइ गरेर व्यवस्थापन गर्नुपर्छ । पटक–पटक गुनासो आउँदा पनि समस्या समाधान नहुने हो भने माथिल्लो निकायप्रति वितृष्णा आउँछ,’ मल्ल भन्छन् ।

राष्ट्रपति पौडेल पशुपतिमा पूजा गरेर सुन्दरीजलस्थित बिपी संग्रहालय जाने क्रममा खाली गराइएको चाबहिल–बौद्ध सडकखण्ड । तस्बिर सौजन्य : किसन पाण्डे/उकालोडटकम


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ