नेकपा एमाले चन्द्रागिरि नगर कमिटिको नेतृत्व चयन, यस्तो छ पछिल्लो अपडेट
थानकोट।
नेपाल कम्युनिष्ट पार्टी एमालेको चन्द्रागिरि नगरको दोश्रो अधिवेशन अन्तर्गत पदाधिकारी चयनको कार्य सर्वसम्मत हुन नसकेपछि मतदानबाट पदाधिकारी चयन गरिँदै छ । ताजा विवरण अनुसार अहिले मतगणनाको कार्य भइरहेको छ ।
हिजो शनिबारबाट जारी दोश्रो नगर अधिवेशन अन्तर्गत बन्द सत्र आज बिहानैबाट चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलमा सुरु भएकोमा नयाँ कार्य समितिका कतिपय पदमा सर्वसम्मत भएपनि पदाधिकारी चयनमा सर्वसम्मत गराउने प्रयास क्षीण भएपछि निर्वाचन प्रकृया सुरु गरिएको थियो ।
सो पार्टीको नगर कमिटि अध्यक्षमा चार जनाले दाबी पेश गरेका छन् ।
जसमा उत्तम बहादुर राउत, श्रीराम लामिछाने, गीता पोखरेल र राजेन्द्र केसी छन् । उपाध्यक्ष पदमा तीन जनाको दाबी परेको छ । जसमा केशरी महर्जन, मुरारी प्रसाद विडारी र राजन श्रेष्ठ छन् । सचिवमा श्रीहरी थापा र लक्ष्मी थापा सुवेदीले उम्मेदवारी दिएका छन् । सहसचिव पदमा समेत ३ जनाको उम्मेदवारी परेको छ ।
नगरको पदाधिकारी पदका लागि आकांक्षा देखाएका उम्मेदवारहरूले अडान नछाडेपछि पदाधिकारी चयन निर्वाचन कार्यक्रमतर्फ धकेलिएको थियो ।
अधिवेशनमा सहभागी प्रतिनिधिहरुको माग पनि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्नेमा केन्द्रित भएपछि दोश्रो नगर अधिवेशन निर्वाचनको प्रक्रियामा प्रवेश गरेको सो पार्टीका एक नेताले जानकारी दिए । आज नै नयाँ नेतृत्व चयन भइसक्नेछ ती नेताले भने ।










