कलङ्की-चावहिल सडक छिटो बनाउन माग गर्दै काँग्रेस र रास्वपा सांसदद्वारा संकल्प प्रस्ताव दर्ता

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले रिङरोडको कलङ्की-चाबहिल सडक-खण्ड छिटो निर्माण गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गरेका छन्।

काठमाडौँबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काँग्रेस र रास्वपाका सांसदहरूले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई बुधबार जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव बुझाएका हुन्। 

नेपाल र चीन सरकारबीच रिङरोडको कलङ्की-चाबहिल सडक खण्ड निर्माण गर्ने सहमति भएको थियो। चीनले उक्त सडक नबनाउने हो भने आफ्नै स्रोतबाट सरकारले सडक बनाउनुपर्ने उनीहरूको भनाइ छ।

‘दुवै सरकार बीचमा भएको समझदारी अनुरूप विस्तार कार्य हुने वा नहुने अन्यौलता हटाइ रिङरोड विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारी साधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न, आम नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र सहरी सुन्दरताको पुनरावृत्ति गर्न रिङरोड कलङ्की धोबीखोला चाबहिल विस्तार कार्यलाई अविलम्ब सुचारु गरी यथाशक्य चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्नका लागि यस संकल्प प्रस्ताव प्रस्तुत गर्दछौँ,’ सांसदहरूले भनेका छन्।

काँग्रेस सांसद प्रदीप पौडेल प्रस्तावक र समर्थकमा गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपनाराज भण्डारी, अम्बिका बस्नेत,  शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले संकल्प प्रस्ताव दर्ता गरेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *