नेपाल प्रिमियर लिगः पोखरा एभेन्जर्सको कीर्तिमानी जित

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स कीर्तिमानी जित निकालेको छ।

पोखराले शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो।

लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले विना विकेटको क्षतिमा १६.५ ओभरमै पूरा गर्‍यो।

खेलमा पोखराका ओपनिङ ब्याटरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङ गरे।

गौसले नटआउट १०४ रन र दिनेशले नटआउट ६१ रन जोडे। गौसले एनपिएलकै छिटो अर्धशतक पूरा गरे । उनले २० बलमा अर्धशतक र ५४ बलमा शतक प्रहार गरे। यो एनपिएलको पहिलो शतक हो।

गौसले ५५ बलमा १२ चौका र ५ छक्का तथा दिनेशले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। एनपिएलको सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पहिलो जित निकालेको हो। लुम्बिनी भने दुवै खेलमा पराजित भएको छ।

टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५ विकेटको क्षतिमा १७० रन जोड्यो। खेलमा रोहितले ९५ रन जोडे। अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे।

रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए। जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *