नेपाल प्रिमियर लिग क्रिकेटः लुम्बिनी लायन्स लगातर तेस्रो खेलमा पनि स्तब्ध

Thankot Times

थानकोट ।

लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिग क्रिकेटमा लगातार तीन खेलमा पराजित भएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको पहिलो खेलमा लुम्बिनीलाई सुदूरपश्चिम रोयल्सले ४५ रनले पराजित गर्‍यो।

सुदूरपश्चिम भने लगातार तीन खेलमा जित निकाल्न सफल भयो। जितसँगै सुदूरपश्चिम तीन खेलबाट छ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेल नै जितेको जनकपुर बोल्ट्स अंक तालिकाको दोस्रो स्थानमा झरेको छ।

शनिबार सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी कुनै पनि बेल सम्हालिन सकेन। लुम्बिनीले चार ओभरभित्र पाँच विकेट गुमाएको थियो। सुरुमै दबाबमा परेपछि ब्याटिङमा आएका विवेककुमार यादवले लुम्बिनीको इनिङग्स उकास्न खोजे पनि उनले अरु ब्याटरबाट साथ पाएनन्।

लुम्बिनीले विवेकको नटआउट ७७ रनको मद्दतमा ९ विकेटको क्षतिमा १४२ रन जोड्न सक्यो। विवेकले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।

बलिङमा सुदूरपश्चिमका माक्मलेन र सइफ जबइले ३-३ विकेट लिए। स्कट कुगेलेइनले दुई विकेट लिए।

त्यसअघि लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १८७ रन जोड्यो।

सुदूरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रनको योगदान गरे। १८औं ओभरमा रेमन्ड सिमन्सको बलमा उन्मुक्त चन्दबाट क्याच हुनुअघि उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन र स्कट कुगेलेइनले नटआउट ११ रन जोडे। दीपेन्द्रले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कुगेलेइनले ६ बलमा १ छक्का हिर्काए।

बलिङमा लुम्बिनीका रेमन्ड सिमन्सले २ विकेट लिए। उनले ४ ओभरमा ३२ रन दिए।

प्रतियोगिता अन्तर्गत अहिले विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *