खो खो विश्वकप : महिलातर्फ नेपाल अपराजित रहँदै समूह विजेता

Thankot Times

थानकोट ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध सहज जित निकाल्दै नेपाली राष्ट्रिय महिला खो खो टिम भारतमा जारी खो खो विश्वकपको समूह विजेता बनेको छ ।

बिहीबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध ८३-२४ को सहज जित निकालेको हो ।

यो जितसँगै नेपाल समूह ‘सी’ को विजेता बन्यो । तालिकाको शीर्ष स्थानमा रहेको नेपालले लिग चरणमा अपराजित रहँदै चार खेलबाट १२ अंक जोडेको हो ।

नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानविरुद्ध ८३-२४, दोस्रो खेलमा जर्मनीविरुद्ध ७३-३४ को र तेस्रो खेलमा श्रीलंकाविरुद्ध ११०-१० को सहज जित निकालेको थियो ।

नेपालले अब सेमिफाइनल प्रवेशका निम्ति मध्य पूर्वी एसियाली मुलुक इरानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

इरान समूह ‘ए’ को उपविजेताको रुपमा क्वार्टरफाइनल आएको हो ।

यी दुई टिमबीचको खेल आज शुक्रबार (जनवरी १७) हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *