सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः पुलिस स्कुल र एपीएफ स्कुल सेमीफाइनलमा

Thankot Times

थानकोट ।

नेपाल पुलिस स्कुल र नेपाल एपीएफ स्कुल, कीर्तिपुरको ए टीम कीर्तिपुरमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा घरेलु टोली नेपाल एपीएफ स्कुल, कीर्तिपुरको बी टीममाथि ४-१ गोल अन्तरको जित निकाल्दै पुलिसले प्रतियोगिताको सेमीफाइनलमा स्थान पक्का गरेको हो । 

नेपाल पुलिस स्कुलका लागि उत्सव खड्का, दिप्सन पाण्डे, सिवन पराजुली र मनिस वनराइतले समान १-१  गोल गरेका थिए । खेलमा १ गोल गरेका दिप्सन खड्का म्यान अफ दि म्याच चुनिए । 

यसैगरी शुक्रबार नै सम्पन्न प्रतियोगिताको चाैथो एवं अन्तिम क्वाटरफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुरको ए टीम नेपाल एपीएफ स्कुल कोहलपुरको चुनाैती २-१ ले पन्छाउँदै सेमीफाइनलमा प्रवेश गर्यो । 

नेपाल एपीएफ स्कुल कीर्तिपुरका लागि प्रिन्स मोक्तान र विकास बोहोराले समान १-१ गोल गरेका थिए । नेपाल एपीएफ स्कुल कोहलपुरका मानव खत्री यस खेलको म्यान अफ दि म्याच चुनिए ।

शुक्रबारका खेलसँगै माघ २२ गतेबाट सुरु भएको प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । 

ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थ र सैनिक आवासीय महाविद्यालय सल्लाघारी यसअघि नै प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । 

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।

प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *