एसियन कप छनोटः आज नेपालले लाओससँग प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट।

नेपाली पुरुष फुटबल टोलीले एसिया कप छनोटअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा आज लाओससँग प्रतिस्पर्धा गर्दै छ ।

खेल लाओसको ‘न्यु लाओस नेसनल रंगशाला’मा साँझ पौने ६ बजे सुरु हुनेछ ।

तथ्यांकअनुसार नेपाल अहिलेसम्म लाओससँग अपराजित रहेको छ । सात खेलको इतिहासमा नेपालले पाँचमा जित निकालेको छ । लाओससँग नेपालले दुई खेल भने बराबरी खेलेको छ ।

एसियन कप २०२७ को तेस्रो चरणको यो छनोट निर्णायक मानिएको छ । समूहको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । त्यस्तै, लाओस भियतनामसँग ५–० ले पराजित भएको छ ।

नेपालका प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले जित निकाल्ने विश्वास व्यक्त गरेका छन् । किरणले लाओसलाई कमजोर ठान्न नहुने बताउँदै सतर्कता अपनाउनुपर्ने पनि बताए ।

नेपालले तयारीस्वरूप हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै ३७ वर्षपछि पहिलोपटक फिफा वरीयतामा माथिल्लो टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल र लाओसबीचको प्रतिस्पर्धा सन् २०१६ देखि सुरु भएको हो । पछिल्लो भेट सन् २०२३ अक्टोबरमा विश्वकप छनोटमा भएको थियो, जहाँ नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *