प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमण्डलाई
थानकोट ।
चन्द्रागिरिको टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । न्यू डायमण्ड कुनैपनि महिला भलिबल प्रतियोगितामा वि.सं. २०७९ पछि च्याम्पियन बनेको हो । पछिल्लो पटक डायमण्डले छैटौं केएनपी महिला भलिबल प्रतियोगितामा एपिएफलाई नै पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछिका विभिन्न प्रतियोगिताको फाइनलमा पुगेर पनि डायमण्ड उपाधि विमुख बनिरहको थियो । तर, यसपटक डायमण्डले त्यो नजिरलाई तोड्न सफल भयो ।
मकवानपुरको हेटौंडा–४ हुप्राचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा न्यु डायमण्डले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा एक समय ७ अंकले पछि परेको न्यु डायमण्डले सानदार पूनरागमन गर्दै २५–२३ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्यो । ९–१० ले पछि रहेको डायमण्ड त्यसपछि खेलमा ११–१८ ले पछि पर्यो ।
त्यसपछि पनि हार नमानेको डायमण्डले खेललाई २०–२२ को स्थितिबाट खेललाई २३–२३ को बराबरीमा ल्याउदा अर्काे २ अंक बुटुल्दै खेल सेट नै आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेटको सुरुवात केही प्रतिस्पर्धात्मक बन्यो । ५–५ को बराबरीको स्थितिमा एपिएफले रेफ्रीको निर्णय गलत रहेको भन्दै कोर्ट छाडेपछि खेल केहीबेर रोकिन पुगको थियो । खेल पुनः सुचारु हुँदा डायमण्डले खेलमा १०–५ को अग्रता बनायो । त्यसपछि एपिएफले खेलमा फर्कने प्रयास गरेपनि डायमण्डलाई नतिजा २५–१८ ले सुम्पन पुग्यो ।
लिग चरणमा पनि डायमण्डले एपिएफमाथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । सेमिफाइनलमा पुलिसविरुद्ध सानदार प्रदर्शन गरेकी निरुता ठगुन्ना, पुजा चौधरी र सृष्टि खड्गी र गरिमा बोहोरा फाइनलमा डायमण्डविरुद्ध भने खुलेर खेल्नै सकेनन् ।
अर्काेतर्फ यस प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेका सलिना बुढामगर, सुमित्रा रेग्मी, निशा महर र जेनिशा विश्वकर्मा र प्रगतिनाथले एपिएफलाई कुनै समय खुल्नै नदिदा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
उपाधिसँगै डायमण्डले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको एपिएफले ३ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले एक लाख र चौथो भएको गण्डकी प्रदेशले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । बुधबार पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।
विधागततर्फ च्याम्पियन डायमण्डकी सुमित्रा रेग्मी सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै प्रमाण पत्र प्राप्त गरेको छ । गण्डकीकी क्जिना बोटे उदियमान खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै ५ हजार रुपैया र प्रामणपत्र प्राप्त गरिन् ।
डायमण्डकी प्रगतिनाथ सेटर, सलिना श्रेष्ठ लिवेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफकी निरुता ठगुन्ना स्पाइकर र गरिमा बोहोरा उत्कृष्ट ब्लकर घोषित भइन् । पुलिसकी कोपिना राना सर्भर घोषित भइन् । उनीहरुले समान ५ हजार, ट्रफी र प्रमाण्पत्र प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलगायतले पुरस्कृत गरे ।
नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) को आयोजनामा शनिबार हेटौंडामा लिग कम नकआउटका आधारमा ७ असारबाट शुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहेको थियो ।
उत्कृष्टहरु
सर्वाेत्कृष्ट – सुमित्रा रेग्मी (न्यु डायमण्ड)
उदियमान खेलाडी – रिक्जना बोटे (गण्डकी)
स्पाइकर – निरुता ठगुन्ना (एपिएफ)
सर्भर – कोपिला राना (पुलिस)
लिवेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
ब्लकर – गरिमा बोहोरा (एपिएफ)
सेटर – प्रगतिनाथ (न्यु डायमण्ड)
प्रशिक्षक – कुमार राई (न्यु डायमण्ड)
हाम्रो खेलकुदबाट












