नरहरीपुर कराते डोजोका प्रशिक्षार्थी धादिङका सुनिल खड्काले गिनिज वर्ल्ड रेकर्ड तोडे
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित नरहरीपुर कराते डोजोका खेलाडी तथा नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले गिनिज वर्ल्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता हासिल गरेका छन्।
उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् ।
यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक अगस्टिनले ३० क्ल्याप पुलअप गर्दै रेकर्ड बनाएका थिए।
सुनिलले उक्त कीर्तिमान तोडेका हुन् ।
धादिङको गल्छीका २५ वर्षीय सुनिलले गत २१ जुनमा ललितपुरस्थित बज्र ननिता फिटनेसमा आधिकारिक रूपमा दिएको प्रयासमा कायम गरेका हुन्।
सुनिलको रेकर्डबारे गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो आधिकारिक वेबसाइटमा पनि राखेको छ ।
उक्त कार्यक्रममा प्रमुख निर्णायकका रूपमा सुकदेव कार्की रहेका थिए, जो नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक हुन् भने अन्तर्राष्ट्रिय स्तरका सर्टिफाइड स्ट्रेन्थ एन्ड कन्डिसनिङ स्पेशलिस्ट हुन् ।
रेकर्ड बनाएपछि सुनिलले नेपाललाई विश्वमा चिनाउँदा धेरै गर्व लागेको बताएका छन् ।
क्ल्याप पुलअप एउटा अत्यन्तै कठिन र उन्नत स्तरको क्यालिस्थेनिक्स व्यायाम हो, जसमा आफ्नो शरीरलाई तीव्र गतिमा बारतिर तानेर, बारबाट दुबै हात केही समयका लागि हटाइन्छ, त्यसपछि हावामा ताली बजाएर फेरि छिटो बार समातेर शरीरलाई नियन्त्रणपूर्वक तल ल्याइन्छ।
यो अभ्यास सामान्य पुलअपको तुलनामा धेरै शक्ति, गति, समन्वय र शरीरमाथिको नियन्त्रण आवश्यक पर्ने व्यायाम हो।
अनलाइनखबरबाट
तस्बिरः रविन्द्र मानन्धर












