एसीसी यू-१६ पुरुष इस्ट जोन: नेपालले इन्डोनेसियासामु प्रस्तुत गर्यो ४२१ रनको विशाल लक्ष्य
थानकोट ।
नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपमा इन्डोनेसियासामु ४ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको क्वालालाम्पुरस्थित सालाङगोर टर्फ क्लबमा इन्डोनेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोलीले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४ सय २० रनको योगफल तयार पारेको हो।
पहिलो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र परिमर्जन यादवले ६२ बलमा १ सय ३० रनको साझेदारी गर्दै नेपालको उत्कृष्ट सुरुवात गराएका थिए।
प्रसिद्ध जैसीले १ सय ३२ रनको सर्वाधिक योगदान दिए। उनले १ सय १४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दा क्याच आउट भए।
२८ बलमा ४ चौका र ८ छक्का सहयोगमा ७१ रन बनाएका परिमर्जन यादव दसौँ ओभरको अन्तिम बलमा क्याच आउट भए।
तेस्रो विकेटका लागि प्रसिद्ध र रौनक श्रीवास्तवले १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गर्दै नेपाललाई कीर्तिमानी योगफलतर्फ डोर्याएका थिए।
रौनक श्रीवास्तव ८८ रन बनाउँदा क्याच आउट नै भए। जय थापा ५७ रन थप्दै आउट भए। शिवांश बजगाईं ४ रनमा पेभेलियन फर्के।
सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे।
इन्डोनेसियाले अब जवाफी ब्याटिङ गर्नेछ।












