एसिसी यू-१६ इस्ट जोन कपमा नेपालको जित, इन्डोनेशिया इन्डोनेसियालाई ३७० रनले पराजित

Thankot Times

थानकोट ।

जारी एसिसी यू-१६ इस्ट जोन कपमा नेपाल सेमिफाइनलमा पुगेको छ।

नेपालले आइतबार भएको खेलमा इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै अलआउट भयो।

उसका लागि केभिन निरज चड्डाले १५ रन र द्विविध नन्दले १४ रन बनाए। अरु ९ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिए। विपिनले ७.३ ओभरमा २ मेडन राख्दा १२ रन खर्चिए।

यसअघि टस जितेको इन्डोनेसियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनायो।

नेपालका लागि ओपनिङ ब्याटर प्रसिद्ध जैशीले शतक प्रहार गरे। उनले १३२ रनको योगदान गरे। ११४ बल खेलेका प्रसिद्धले १५ चौका र १ छक्का प्रहार गरे।

अर्का ओपनर परिमार्जन यादवले ७१ रन बनाए। उनले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए। प्रसिद्ध र परिमार्जनबीच पहिलो विकेटका लागि १० ओभरमा १३० रनको साझेदारी भएको थियो।

शिवान्स बजगाइँ ४ रनमा आउट भएका थिए। त्यसपछि रौनक श्रीवास्तवले पनि उत्कृष्ट ब्याटिङ गरे। रौनकले ७१ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८८ रन बनाए।

जय थापाले ४१ बलमा ५७ रन बनाए। यस्तै सुगम बुढाथोकीले नटआउट ३९ रन र रोशन शाहीले नटआउट १० रन जोडे।

नेपालले अन्तिम खेलमा असार १७ गते भुटानसँग खेल्नेछ।‍

अन्तिम खेलअघि नेपाल समूह विजेता र सिंगापुर उपविजेता बनेका छन्। प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *