महिला एसियन कप छनोटमा श्रीलंकाको पोष्टमा नेपालले ८ गोल गरेपछि समीकरण रोचक

Thankot Times

थानकोट ।

जारी एएफसी महिला एसियन कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

बुधबार समूह चरणको दोस्रो खेलमा श्रीलंकाविरुद्ध ८–० को जित दर्ता गरेको हो ।

कप्तान सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिक गरिन् ।

डिफेन्डर गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान १-१ गोल गरे ।

नेपालले खेलको सुरुवातदेखि नै आक्रामक रूपमा खेलेको थियो । सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसपछि २० औँ मिनेटमा सावित्राले अनिता बस्नेतको लो क्रसमा गोल थप्दै अग्रता दोब्बर बनाइन्।

४२ औँ मिनेटमा पुनः अनिताको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–० बनाइन्। पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा सावित्राको हेडर गोलसँगै उनले ह्याट्रिक पूरा गरिन् र नेपालले पहिलो हाफमा ४–० को सशक्त अग्रता बनायो।

दोस्रो हाफको ५४ औँ मिनेटमा गीता रानाले पेनाल्टीमार्फत दोस्रो व्यक्तिगत गोल गरिन्। पेनाल्टी रश्मी कुमारी घिसिङमाथि भएको फाउलपछि दिइएको थियो।

६२ औँ मिनेटमा अनिताको कर्नरमा निशा थोकरले हेड गोल गर्दै स्कोर ६–० बनाइन्। त्यसपछि ७८ औँ मिनेटमा पुजा रानाको पासमा रेखा पौडेलले हेडमार्फत गोल गरिन्। खेलको अन्त्यतिर, ८९ औँ मिनेटमा पुजाकै कर्नरमा गोल गर्दै उनले अन्तिम स्कोर ८–० मा पुर्‍याइन्।

पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो। दुई खेलमा १७ गोल गर्दै एक पनि गोल नखाएको नेपाल अब समूहको अन्तिम खेलमा २१ जुलाईमा आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता अन्तर्गत बुधबार नै सम्पन्न खेलमा उज्वेकिस्तानले लाओसलाई ७-० ले पराजित गरेको छ । यो सँगै अंकतालिकामा नेपाल पहिलो स्थानमा पुगेको छ ।

नेपालको प्रदर्शनले समूह विजेता बन्ने सम्भावना प्रबल देखिएको छ, र उज्वेकिस्तानविरुद्धको खेल यस प्रतियोगितामा शीर्ष स्थान सुरक्षित गर्ने दृष्टिले निर्णायक हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *