चन्द्रागिरिमा इन्डोर क्रिकेट प्रशिक्षण सुरु, सातामा ३ दिन प्रशिक्षण दिइने
थानकोट ।
चन्द्रागिरि क्रिकेट एशोसिएसनको अग्रसरतामा चन्द्रागिरि नगरमा इन्डोर प्रशिक्षण सुरु भएको छ ।
यसअघि खुला हावामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको एशोसिएसनले शनिबारबाट थानकोटस्थित बहुउद्देश्यीय कभर्डहलमा साप्ताहिक रूपमा क्रिकेट प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षणको पहिलो दिन ८ देखि १६ वर्ष उमेर समूहका करिब २२ जना बालबालिका प्रशिक्षणमा सहभागी भएको बताइएको छ ।
यसअघि ४५ जना किशोर किशोरीहरू प्रशिक्षणमा थिए एशोसिएसनका अध्यक्ष प्रजिवन प्रधानले भने ।
थानकोटस्थित त्रिभुवन पार्क तथा गुमालोकीस्थित मदन भण्डारी रंगशालामा संघले गत माघ महिनाबाट साप्ताहिक रुपमा क्रिकेट प्रशिक्षण सञ्चालन गरेको थियो ।
चन्द्रागिरि नगरमा इन्डोर क्रिकेट प्रशिक्षणको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम गिरीले खेलकुद क्षेत्रको विकास विस्तार एवं प्रतियोगिता सञ्चालन गर्न नगरले प्राथमिकता दिएको धारणा राखेका थिए । खेलकुदले अनुशासन, नेतृत्व र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने नगरप्रमुखको भनाइ थियो ।
शनिबारको कार्यक्रममा चन्द्रागिरि नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, समाजसेवी ईश्वर लामा, चन्द्रागिरि क्रिकेट एशोसिएसनका पदाधिकारी, प्रशिक्षक, खेलाडी, अभिभावक, स्थानीय, समाजसेवीहरू लगायतको उपस्थिति रहेको थियो ।
थानकोट कभर्ड हलमा हरेक शनिबार बिहान ८ देखी १० बजेसम्म र हरेक सोमबार एवं मंगलबार साँझ प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।
प्रशिक्षणले भविष्यका कुशल खेलाडीहरू पहिचान गर्न र उनीहरूको प्रतिभालाई निखार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास चन्द्रागिरि क्रिकेट एशोसिएसनको छ ।
तस्बिरः चन्द्रागिरि क्रिकेट एशोसिएसन













