अप्रेसन थियटर छाडेर काठमाडाैं क्षेत्र नं. १० मा मतदाताको ढोका ढकढक्याउँदै दुई जना डाक्टरहरू
थानकोट ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि दुई दर्जनभन्दा धेरै चिकित्सक चुनावी मैदानमा उत्रिएका छन् ।
यसपटकको प्रतिनिधि सभा निर्वाचनमा थुप्रै मेडिकल डाक्टर अप्रेसन टेबुल छाडेर, स्केल्पेलदेखि स्टेथोस्कोप अस्पतालमै राखेर मतपेटिकातर्फ मोडिएका हुन् ।
सधैँ बिरामीको पीडा सुन्ने र समाधान खोज्ने उनीहरू अहिले स्वास्थ्य प्रणालीकै ‘ठुलो अप्रेसन’ गर्न संसद् आवश्यक ठान्दै राजनीतिमा प्रवेश गरेका हुन् ।
उनीहरूको दैनिकी पूरै बदलिएको छ ।
नमस्ते लिने चिकित्सकहरू अहिले मतदातालाई नमस्कार गर्दै हिँरिहडेका छन् ।
अस्पतालका करिडोर, इमर्जेन्सी वार्ड र रातभरको ड्युटीको बानी परेको उनीहरूको जीवन अहिले मतदाता भेटघाट, सभा र बहसमा बदलिएको छ ।
चुपचाप काम गर्नुपर्ने उनीहरू भाषण गर्दै छन् ।
आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फ २० र समानुपातिकतर्फ आठ गरी कुल २८ चिकित्सक उम्मेदवार बनेका छन् ।
सधैँ बिरामीको पीडा सुन्ने र उपचार खोज्ने उनीहरू नेपालको स्वास्थ्य प्रणाली आफैँ गम्भीर अवस्थामा रहेको र यसको उपचार संसद्बाटै सम्भव रहेको बताउँछन् ।
त्यसैले उनीहरूले यो चुनावलाई व्यक्तिगत सत्ता नभई देशको स्वास्थ्य व्यवस्थामाथि गरिने ‘सबैभन्दा ठुलो अप्रेसन’का रूपमा हेरेका छन् ।
काठमाडौं १० बाट डा. राकेश न्यौपाने र डा. धनबहादुर श्रेष्ठ चुनावी मैदानमा छन् ।
डा. श्रेष्ठ श्रम संस्कृति पार्टी र डा. न्यौपाने उज्यालो पार्टी नेपालबाट प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
उनीहरू दुवैले यो निर्वाचन क्षेत्रमा मतदाता भेट्ने क्रमलाई तिव्र बनाएका छन् ।
















