एसइई-२०८२: सतुङ्गल बोसिगाउँस्थित बेसिक लर्निङकी दिव्यतालाई ४ जीपीए प्राप्त

Thankot Times

थानकोट ।

गत वर्ष चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत सोमबार राति प्रकाशन भएसँगै सम्बन्धित विद्यालयहरूले आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सार्वजनिक गर्ने क्रम जारी छ ।

विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयलहरूले भने आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड सार्वजनिक नतिजाअनुसार, २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।

नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।

त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् ।

परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिएको छ ।

प्राप्त विवरण अनुसार चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित बेसिक लर्निङ स्कुलकी दिव्यता ब्रजाचार्यले एसइई-२०८२ मा ४ जीपीए प्राप्त गरेकी छन् ।

सो विद्यालयबाट गत वर्ष २५ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सामेल भएकामा सबै ‘ग्रेडेड’ भएको बताइएको छ ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमध्ये २ वटाले गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षामा शतप्रतिशत नतिजा हात पार्दा संस्थागत विद्यालयको एकीकृत नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।

एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ