श्रमिकलाई १ महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन निर्देशन
थानकोट
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकको एक महिनाको आधारभूत पारिश्रमिक बराबर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।
चाडपर्वका अवसरमा श्रमिकले पाउनुपर्ने कानुनी सुविधाको कार्यान्वयन सुनिश्चित गर्न विभागले रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रम ऐन अनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको हो।
श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ। श्रमिकले आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार मनाउने चाडपर्वका लागि उक्त सुविधा पाउने कानुनी प्रावधान रहेको छ।
विभागले कानुनले सुनिश्चित गरेको सुविधा उपलब्ध गराउनु रोजगारदाताको दायित्व भएको उल्लेख गर्दै त्यसको पालना गर्न सबै प्रतिष्ठानलाई आग्रह गरेको छ।

तोकिएको चाडपर्व खर्च उपलब्ध नगराइए सम्बन्धित श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिन सक्नेछन्।
विभागले श्रमिकका गुनासा तथा उजुरी प्राप्त गर्न विद्युतीय माध्यमको समेत व्यवस्था गरेको छ। श्रमिकले विभागको इमेल ठेगाना मार्फत उजुरी, गुनासो तथा सुझाव पठाउन सक्नेछन्।
त्यसैगरी, विभागले उपलब्ध गराएको क्युआर कोडमार्फत पनि गुनासो तथा उजुरी दिन सकिने जनाएको छ।
चाडपर्व खर्चसम्बन्धी थप जानकारी विभागको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।













