चन्द्रागिरि नगर र त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागबीच शैक्षिक सहकार्य सम्बन्धी सम्झौता सम्पन्न
थानकोट ।
चन्द्रागिरि नगरपालिका र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभागबीच शैक्षिक सहकार्य सम्बन्धी सम्झौता मंगलबार सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, शिक्षकहरूको पेसागत क्षमता विकास गर्ने तथा विद्यालय शिक्षालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यका साथ चन्द्रागिरि नगरपालिका र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग बिच शैक्षिक सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको हो । चन्द्रागिरि नगरपालिकाको कार्यालय, बलम्बुमा सम्पन्न उक्त सम्झौताले नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक विकासमा विश्वविद्यालयको प्राज्ञिक ज्ञान, अनुसन्धानात्मक अनुभव तथा विशेषज्ञ सेवाको उपयोग गर्ने महत्वपूर्ण आधार तयार गरेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
सम्झाैतापत्रमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी र शिक्षा शास्त्र विभागका तर्फबाट शिक्षण अभ्यास विभाग प्रमुख डा. दिनेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताका मुख्य उद्देश्य तथा कार्यक्षेत्रहरूमा शिक्षकहरूको ज्ञान, सीप र शिक्षण क्षमतामा अभिवृद्धि गर्न आवश्यकता अनुसार तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक अनुसन्धान गर्ने, अनुसन्धानका निष्कर्षलाई व्यवहारमा लागू गर्ने तथा शैक्षिक प्रकाशन सम्बन्धी कार्यमा सहकार्य गर्ने, शिक्षाशास्त्र केन्द्रीय विभागको शिक्षण अभ्यास कार्यक्रम अन्तर्गत शिक्षकहरूलाई नगरपालिका भित्रका विद्यालयमा शिक्षण अभ्यास गर्ने वातावरण मिलाउन तथा सुपरिवेक्षण कार्यमा आवश्यक समन्वय गर्ने लगायतका विषय समावेश गरिएको बताइएको छ ।














