राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै
थानकोट ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
संसद सचिवालयले हिजो सोमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुँदैछ ।
संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीबाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।
उता प्रतिपक्षबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्।












