मन्त्री रमा आलेमगर एक महिनादेखि जिम्मेवारी विहिन, मुख्यमन्त्रीले पेन्डुलम बनाएको टिप्पणी

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारमा सांसद् रमा आलेमगरले विना विभागीय मन्त्रीको हैसियतमा सपथ लिएको १ महिना पूरा भएको छ । 

मन्त्री आलेमगरले चैत्र २० गते एक साताभित्र मन्त्रालय टुंगो लगाउने मुख्य मन्त्रीको बचनपछि मन्त्री पदको सपथ लिनुभएको थियो । 

बागमती प्रदेश सरकारमा मन्त्री व्यवस्थापन र भागबण्डाको विषयलाई लिएर सत्ता साझेदार दल एकीकृत समाजवादी असन्तुष्ट छ । सरकार भने सत्ता साझेदार एकीकृत समाजवादीको मागलाई नजरअन्दाज गर्दै आएको छ ।

सत्ता साझेदार दलहरूबिच सहमति जुट्न नसक्दा विगत एक महिनादेखि एकीकृत समाजवादी पार्टीका एक मन्त्री विना विभागीय रहँदै आएको अवस्था छ ।

मन्त्री व्यवस्थापनको चर्को दबाबका बिच मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सत्ता साझेदार दलहरूबाटै दोहोरो दबाब छ ।

मुख्यमन्त्रीले पेण्डुलम बनाएः मन्त्री आले मगर

विना विभागीय मन्त्री रमा आले मगरले आफूलाई मुख्यमन्त्रीले जिम्मेवारी नतोकेर पेण्डुलम बनाएको टिप्पणी गर्नुभएको छ । सरकारलाई विश्वासको मत दिने समयमा भएको सहमति अनुसार जिम्मेवारी तोक्न मुख्यमन्त्रीले आनाकानी गरेको उहाँको भनाइ छ ।

मन्त्रालयको पुनःसंरचना र भागबण्डाको विषयमा सरकार र एकीकृत समाजवादीबिच कुनै गृहकार्य नभएकाले नियुक्ति लिएको एक महिनासम्म जिम्मेवारी विहीन बन्नु परेको मन्त्री आले मगरले बताउनुभयो ।

आफू टिक्ने र शासन सत्तामा कायम रहने विषयमा मात्र ध्यान जाँदा जनताका मुद्दा ओझेलमा परेको उहाँले बताउनुभयो। अधिकार र कर्तव्यहीन भएर बस्न आफू तयार नरहेको भन्दै मन्त्री आले मगरले जुनसुकै समयमा राजीनामा दिन तयार रहेको स्पष्ट  पार्नुभयो ।

संसदीय दलले निर्देशन दिएलगत्तै मन्त्री र सेवा सुविधा त्याग गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । ‘जिम्मेवारी नदिएर मुख्यमन्त्रीले पेण्डुलम बनाउनु भयो । न अधिकार छ, न जिम्मेवारी । म काम गर्न आएको हुँ । मन्त्री नहुँदा पनि काम गरेर देखाएको छु,’ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीले एक सातामा जिम्मेवारी तोक्छु भन्नु भयो । तर, विश्वासघात गर्नुभयो । म अहिले नै राजीनामा दिएर यो मन्त्री, गाडी छाड्न तयार छु ।’

आफ्नो जिम्मेवारी र मन्त्रालयको पुनः संरचनाको विषय सत्ता गठबन्धन दलहरू बसेर छिटो टुङ्ग्याउनुपर्ने उहाँको भनाइ छ रातोपाटी अनलाइनमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *