पत्रकार महासंघको चुनाव स्थगित

Thankot Times

थानकोट ।

नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ ।

महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी भोलि (जेठ २६ गते)का लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ : ‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’

अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

सुर्खेतको साधारणसभाले सदस्य शुद्धीकरणबारे अध्ययन गर्न महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा महासंघका पूर्व महासचिव उजिर मगर, पूर्व सचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण रहेको शुद्धीकरण समिति बनाएको थियो ।  

सो समितिले छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो ।  सदस्य शुद्धीकरणकै विषयलाई लिएर केही हप्ताअघि नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनले महासंघको कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *