नेपाल प्रिमियर लिग क्रिकेटः कर्णालीको दोस्रो जित, लो स्कोरिङ म्याचमा विराटनगर ७ रनले स्तब्ध

Thankot Times

थानकोट।

काठमााडैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा कर्णालीको यो दोस्रो जित हो । कर्णालीले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा भने कर्णालीले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

अन्तिम ओभरमा विराटनगरलाई जितका निम्ति १५ रन आवश्यक थियो । तर, क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले सात रन मात्र जोड्न सके । त्यससँगै विराटनगर सात रनले पराजित भएको हो ।

विराटनगरका निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए पनि हार टार्न सकेनन् ।

कर्णालीका नन्दन यादवले तीन विकेट लिए । उनले विराटनगरका निकोलस किर्टोन, दीपक बोहरा र अकिब इल्साललाई आउट गरे ।

विपीन शर्माले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

कर्णालीका विलियम बोसिस्टो र देव खनालले अर्धशतक बनाए ।

९/२ को कठिन स्थितिमा ब्याटिङ गर्न आएका बोसिस्टोले तेस्रो विकेटका निम्ति देवसँग १०२ रनको शतकीय साझेदारी गर्दै कर्णालीको इनिङ सम्हालेका थिए ।

कर्णालीका ओपनर शिखर धवन पाँच रनमै पभेलियन फर्किए । धवनलाई दोस्रो ओभरको तेस्रो बलमा प्रतिश जिसीले बोल्ड गरेका थिए ।

प्रतिश जिसीले गरेको अन्तिम ओभरमा विराटनगरले चार विकेट लियो, जसमा एक रनआउट र तीन विकेट प्रतिशको नाममा रह्यो ।

चार ओभर बलिङ गरेका प्रतिशले एक मेडन फ्याँक्दै १७ रन खर्चिए । क्रिस सोल र बसिर अहमेदले समान दुई विकेट लिए । अकिब इल्यासको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा विराटनगरको भने यो तेस्रो हार हो ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछ ।

आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रनेछ । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।

शनिबारको खेलपछि यस्तो बन्यो नेपाल प्रिमियर लिगमा अंकतालिका 


Leave a Reply

Your email address will not be published. Required fields are marked *